+977-1-553 5978 | info@xposenepal.org.np

News

पर्दाबाहिरका ‘प्याड म्यान’

चौतारीमा बसिरहेका महिलाहरूको अगाडि एक युवक पुग्छन्, र पट्याएको रुमाल जस्तो वस्तु खोल्छन् । भित्रपट्टि सिलाइको खापामा दुई छेउमा घुसारिएका बाक्ला कपडाको दुई पत्र निकालेर भने, “यो भागले चाहिं महीनावारी हुँदा निस्किएको रगत सोस्छ ।” उनी घरेलु स्यानीटरी प्याड देखाएर यसबारे बुझाउँदै थिए ।

महीनावारी हुँदा लगाउने प्याडबारे लोग्नेमान्छेबाट पहिलो पटक सुनेका ललितपुर खोकनाका अधबैंसे महिलाले हत्तपत्त मुख छोपे र हिंड्न खोजे । तर, युवकले एकैछिन सुन्न आग्रह गर्दै महीनावारी हुँदा स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरा बुझउन थालेपछि भने उनीहरू रोकिए र बिस्तारै सहज मान्न थाले ।

“१२ वर्षदेखि यही काम गर्दैछु” महिला सशक्तीकरण र स्वच्छ महीनावारीबारे अभियान चलाउँदै आएको संस्था एक्स–पोज नेपाल का अध्यक्ष समेत रहेका ज्ञान महर्जन (४०) भन्छन्, “महीनावारी लाजको विषय नभई प्रजननका लागि महिला सक्षम भएको संकेत हो भनेर बुझ्न र बुझाउन आवश्यक छ ।”

ललितपुर महानगरपालिका–२५ का महर्जन २०६१ सालतिर कलेज पढ्ने क्रममा महिला अधिकारबारे वृत्तचित्र बनाउनेहरूसँग सहयोगीका रूपमा काम गर्थे । त्यो कामबाट उनले महिलाका समस्याबारे बुझन पाए । हरेक महीना चार/पाँच दिन दिदीबहिनीहरू अछूत झैं घरको एक कुनामा खुम्चिएर बस्ने गरेको देखेपछि उनलाई स्वच्छ महीनावारीबारे चेतनामूलक काम गर्ने सोच आयो ।

उनको अगुवाइमा ललितपुरको गाबहाः मा सन् २००७ मा खुलेको एक्स–पोज नेपाल ले महिनावारी सम्बन्धी संकुचित सोच हटाउन चेतना जगाउनुका साथै घरेलु स्यानीटरी प्याड निर्माण र प्रयोगमा बढावा दिंदै आएको छ ।

‘रियुुजेवल प्याड’ का अभियन्ता
महर्जनको संस्थाले बजारमा पाइने रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि किफायती हुने पुनः प्रयोग गर्न सकिने घरेलु प्याड बनाउने तालिम दिंदै आएको छ । संस्थाले वितेको पाँच वर्षमा ललितपुरका साथै काठमाडौं, भक्तपुर र रौतहटका ५० महिलालाई प्रशिक्षण दिइसकेको छ ।

सूतीको कपडा र एउटा बटन प्रयोग गरेर बनाइने स्यानीटरी प्याडको तालिम लिएका महिलाबाट संस्थाले प्रतिगोटा रु.११५ को दरले खरीद समेत गरिदिन्छ । संस्थाले अहिले महिलाहरूबाट मासिक झ्न्डै एक हजार थान प्याड खरीद गरेर बजारमा बिक्री गरिरहेको अध्यक्ष महर्जन बताउँछन् ।

महर्जनका अनुसार, सूती कपडा मोरेर बनाइने यस्तो प्याड केही घण्टाको सिकाइबाट सजिलै बनाउन सकिन्छ । एउटा प्याड करीब दुई वर्षसम्म पुनः प्रयोग गर्न सकिने उनी बताउँछन् ।

“सफा पानीले धोएर घाममा सुकाएको प्याड आइरन लगाएर प्रयोग गरेमा ब्याक्टेरिया संक्रमणको संभावना अझ् कम हुन्छ”, उनी भन्छन् । महर्जनले विद्यालयका विद्यार्थी र वडा कार्यालयमा महिलाहरूलाई भेला गरेर स्वच्छ महीनावारी र स्यानीटरी प्याडबारे सचेतना कार्यक्रम चलाइरहेका छन् ।

सृष्टि सुनुवार (२०)

‘रियुजेवल प्याड’ को अभियान शुरू गर्दा ‘फोहोरी कुरा गरेको’ भनेर महर्जन आफन्त र इष्टमित्रबीच नै हाँसोको पात्र बनेका थिए । उनी महीनावारीलाई महिलाको समस्याको रूपमा मात्र नहेरी पुरुषले पनि बुझानुपर्नेमा जोड दिन्छन् ।

“यो फोहोरी कुरा, नछुने भनेर भ्रम पाल्ने विषय नभई सरसफाइमा विशेष ध्यान दिनुपर्ने संवेदनशील पाटो हो”, उनी भन्छन्, “मैले त आमादेखि सासूसम्मलाई सेनिटरी प्याड प्रयोग गर्ने तरिका सिकाएको छु ।”

तालिम लिएका महिलाले बनाएका घरेलु प्याड बिक्री गर्न एक्स–पोज नेपाल ले दुई वर्षअघि ललितपुरको पुल्चोक र खोकनामा गरी दुई वटा च्यारिटी पसल पनि खोलेको छ । उक्त पसलमा रु.१५० प्रतिगोटामा बिक्री गरिने घरेलु प्याडसँगै पेन्टिङहरू समेत राखिएका छन् ।

पेन्टिङ बिक्रीको मुनाफाबाट विभिन्न जिल्लामा महिलाहरूलाई प्याड बनाउन तालिम दिने योजना रहेको महर्जन सुनाउँछन् ।

खर्चमा किफायती
घरेलु स्यानीटरी प्याड बजारमा पाइने रेडिमेड प्याडको तुलनामा सस्तो र वातावरणमैत्री मानिन्छ । एउटा रेडिमेड स्यानीटरी प्याडलाई बजारमा रु.५५ देखि रु.७० सम्म पर्छ । एक महिलाले एक पटक महीनावारी हुँदा कम्तीमा रु.३०० को रेडिमेड स्यानीटरी प्याड खपत गर्छन् । जबकि रु.११५ मा पाइने घरेलु प्याड दुई वर्षसम्म पुनः प्रयोग गर्न सकिन्छ ।

अर्कातिर, प्लास्टिक र डाइअक्सिन लगायत रसायन हुने भएकाले रेडिमेड स्यानीटरी प्याडले स्वास्थ्य जोखिम निम्त्याउने विभिन्न अनुसन्धानले देखाएका छन् । यसका साथै, त्यस्तो प्याड लामो समयसम्म नकुहिने भएकाले वातावरणीय असरको पनि स्रोत बन्छ ।

काठमाडौं कलंकीकी सृष्टि सुनुवार (२०) एक्स–पोज नेपाल बाट घरेलु स्यानीटरी प्याड बनाउने तालिम लिएपछि आफूलाई चाहिने प्याड घरैमा बनाउने गरेको बताउँछिन् । पछिल्लो समय यही संस्थामा सहयोगीका रूपमा क्रियाशील उनी घरैमा बनाएका चार वटा स्यानीटरी प्याड एक वर्षदेखि प्रयोग गरिरहेको र यसबाट खर्च कम्तीमा ६ गुणा घटेको अनुभव सुनाउँछिन् ।

सृष्टिकै सहपाठी खोटाङ स्थायी घर भएकी शर्मिला फुयाँल (२०) ले पनि एक वर्षयता घरेलु स्यानीटरी प्याड प्रयोग गर्दै आएकी छन् । यो सजिलो, स्वस्थकर र कम खर्चिलो रहेको उनको पनि अनुभव छ ।

गाउँघरमा महिलाले महीनावारी हुँदा कपडा कोच्ने गरेको थाहा पाएको बताउँदै उनी भन्छिन्, “घरेलु स्यानीटरी प्याडको प्रयोगबारे बढीभन्दा बढी बुझाउन र सबैतिर पुर्‍याउन आवश्यक छ ।”

शर्मिला फुयाँल (२०)

कार्यान्वयन नहुने नीति
सरकारले जारी गरेको मर्यादित महीनावारी सम्बन्धी राष्ट्रिय नीति, २०७५ को उद्देश्यमा समाजमा व्याप्त महीनावारी सम्बन्धी गलत बुझइ निर्मूल पार्ने, महीनावारी व्यवस्थापनका लागि आधारभूत सेवा–सुविधाको उपलब्धता र पहुँच बढाउने लगायत उल्लेख छन् । नीतिमा यस्ता प्रावधान भए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग महीनावारी सम्बन्धी भ्रम हटाउनेबारे कुनै पनि कार्यक्रम छैनन् ।

मन्त्रालयको महिला विकास तथा लैंगिक मूल प्रवाहीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्की भन्छिन्, “आउँदो आर्थिक वर्षमा पनि यसबारे कुनै कार्यक्रम हुने संभावना छैन ।”

उक्त नीतिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र खानेपानी तथा सरसफाइ मन्त्रालयबीचको समन्वयमा जोड दिइएको छ । तर यी तीन वटै मन्त्रालयसँग मर्यादित महीनावारीलाई प्रोत्साहन पुग्ने कुनै कार्यक्रम छैनन् ।

खानेपानी मन्त्रालयका योजना महाशाखा प्रमुख तेजराज भट्ट आर्थिक वर्ष २०७५/७६ भित्र देशभरि १५ वटा सार्वजनिक शौचालय बनाउने र तिनमा प्रयोग भइसकेको स्यानीटरी प्याड थन्क्याउने बक्स राखिने बाहेक मर्यादित महीनावारीबारे कुनै कार्यक्रम नभएको बताउँछन् ।

त्यस्तै, विद्यालय क्षेत्र विकास योजना (सन् २०१६—२०२३) को स्वास्थ्य र पोषण शीर्षकमा महीनावारी र सरसफाइ सुनिश्चित गरिएको उल्लेख छ । उक्त योजना अनुरूप पाठ्यपुस्तकमा वयस्कमा हुने शारीरिक परिवर्तन, महीनावारी, यौन स्वास्थ्य जस्ता विषय समेटिएका छन् । तर, अधिकांश विद्यालयमा मापदण्ड अनुसार छात्रा शौचालयमा सेनिटरी प्याड र सफा पानी सहितको ‘चेन्जिङ रुम’ छैनन् ।

नर्स, मर्यादित महीनावारी सम्बन्धी अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेल भने कुनै पनि स्यानीटरी प्याडको गुणस्तरबारे ढुक्क हुन नसकिने बताउँछिन् । “प्याडको गुणस्तरमा ढुक्क हुन सके मात्र मर्यादित महिनावारीको अवधारणा सफल हुन्छ”, उनी भन्छिन् ।

महीनावारी सम्बन्धी ‘अपवित्र रगत’ र ‘मर्यादित महीनावारी’ पुस्तक समेत लेखेकी पौडेलको आकलनमा यकिन तथ्यांक नभए पनि देशका शहरी क्षेत्रमा वार्षिक करीब ७० लाख थान स्यानीटरी प्याडको खपत हुन्छ ।

खोकनाकाे च्यारिटी पसल

नीति जारी गर्दा देशको कुल जनसंख्याको ४६.७९ प्रतिशत अर्थात् १ करोड ४० लाख ३७ हजार महिला प्रजनन् उमेर (१५–५०) का रहेको उल्लेख छ । उक्त नीतिमा महीनावारीलाई अन्धविश्वास एवं नकारात्मक दृष्टिले हेरिंदा देशको करीब आधा जनसंख्याले अमर्यादित र असुरक्षित जीवन गुजार्नुपरेको उल्लेख छ ।

२०७४ सालमा जारी मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन मा महीनावारी भएको व्यक्तिलाई छुवाछूत गरे तीन महीनासम्म कैद र रु.३ हजार जरिवाना हुने व्यवस्था उल्लेख छ । तर, महीनावारीका बेला अमर्यादित व्यवहार गर्नेलाई कारबाही गरिएको पाइँदैन ।

अशिक्षित मात्र होइन, शिक्षितसम्मका घरमा महीनावारी हुँदा अछूतको व्यवहार खेप्नुुपरेको महिला अधिकारीहरू नै बताउँछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला विकास तथा लैंगिक मूल प्रवाहीकरण शाखाकी प्रमुख कार्की भन्छिन्, “यो हामीले घरघरमा भोगेको र देखेको आम समस्या हो, चेतना अभिवृद्धि नै समाधानको उपाय हो ।” उनी स्थानीय तहहरूले यसबारे अनुकूल नीति बनाएर कार्यक्रम ल्याउन सक्ने बताउँछिन् ।

एक्स–पोज नेपाल का अध्यक्ष ज्ञान महर्जन महीनावारी सम्बन्धी भ्रम निवारणमा पुरुष सक्रियता बढाउन स्थानीय तहहरूसँग मिलेर अभियान चलाउन लागेको बताउँछन् । “आमा, छोरी, श्रीमती र दिदीबहिनीहरूले भोगिरहेको महीनावारी सकसबारे अब पुरुष बुझइ बदलिनुपर्छ”, उनी जोड दिन्छन् ।